काठमाडौं- धान विश्वको करिब आधा जनसङ्ख्याको प्रमुख खाद्यान्न हो। हाम्रो प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान खाद्यसुरक्षा र पोषणको लागि मात्र नभई देशको आर्थिक विकास र लाखौं साना तथा सीमान्तकृत कृषकहरूको जीविकोपार्जनको आधार पनि हो।
देशको अर्थतन्त्रमा समेत यसको महत्वपूर्ण योगदान रहेको छ। धान उत्पादनमा क्रमिक रूपले वृद्धि भएको भएता पनि आन्तरिक उत्पादनले माग धान्न नसकेपछि पछिल्ला वर्षहरूमा धान चामलको आयात उच्च दरमा बढ्दै गएको छ।
धान खेती हुने जमिन बाँझो हुने क्रम र धान खेती हुने जमिन गैर कृषि प्रयोजनमा प्रयोग हुने क्रम बढ्दै जाँदा धान उत्पादनमा प्रत्यक्ष असर परेको पाइएको छ। त्यसमाथि पछिल्लो समय जलवायु परिवर्तनको कारण धान खेती एवं उत्पादनमा नकरात्मक असर बढ्दै गएको पाइन्छ।
तापक्रम वृद्धि एवं जलवायु परिवर्तनको कारण उच्च तापक्रम, सुख्खा खडेरी, खण्डवृष्टि, अतिवृष्टि, असमय वर्षा, असिना वृष्टि, तातो हावा वा लू चल्ने र शीतलहरका घटनामा वृद्धि भएको छ भने रोगकिराको प्रकोपको अलावा बाढी, पहिरो, डुबान तथा कटानको समस्या पनि बढ्दै गएको छ।
यसरी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण धान उत्पादनको लागि आवश्यक पानीको उपलब्धता घट्दै गएको र तापक्रम वृद्धिले धान बालीको वृद्धि विकासमा नै असर परेको पाइएको छ। यी कारणहरूले धान खेती तथा उत्पादनमा प्रत्यक्ष नकरात्मक असर पर्ने गरेको छ। अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी) ले गरेको पूर्वानुमान अनुसार यदि धानबाली फूल खेल्ने समयमा एक घण्टाभन्दा बढी अवधिसम्म ३५ डिग्री भन्दा माथिको तापक्रममा रहेमा प्रत्येक एक डिग्री तापक्रम वृद्धि हुँदा धानको उत्पादन २० प्रतिशत घट्नेछ।
यस वर्षको २०औं राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ तय गरिएको हो। यसको उद्देश्य जलवायु परिवर्तनको कारण धान उत्पादनमा परेको र भविष्यमा पर्न सक्ने असरबारे आम कृषक र सरोकारवालालाई बढी जागरुक बनाउने र जलवायुमैत्री धान उत्पादन पद्धति अपनाउन कृषकलाई अभिप्रेरित गर्ने तथा यस्ता प्रविधिहरूको विकास र प्रसारमा वैज्ञानिक तथा अनुसन्धाता र प्रसार कार्यकर्तालाई जागरुक र उत्प्रेरित गराउने रहेको छ।
जलवायु परिवर्तनको कारण समग्र खेतीपातीमा र खासगरी धान उत्पादनमा देखापरेका समस्याहरू र अबको दिनमा त्यस्ता समस्याहरू अझै बढ्दै जाने पूर्वानुमानहरू भइरहेको छ। यो सन्दर्भमा अब हाम्रो धान खेतीको अभ्यासलाई परिवर्तन नगर्ने हो भने दीगो रूपमा धान उत्पादन वृद्धि गर्न सम्भव हुने देखिंदैन। हामी कहाँ जलवायु अनुकूलित धान उत्पादनका केही प्रविधिहरू विकास भएका छन्। खासगरी सुख्खा खडेरी र डुबान सहन सक्ने जातहरू नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस भएका छन्।
केही त्यस्ता प्रमुख जातहरूमा सुख्खा १ देखि सुख्खा ६ सुख्खा सिरिजका जातहरू, पाखो बारीको लागि हालसालै सिफारिस घैया धान ३ जस्ता जातहरू सुख्खा सहन सक्ने जात र कम पानीमा पनि उब्जनी लिन सकिने जातहरू हुन्। त्यसैगरी स्वर्ण १, सावाँ मसुली सव १ र सेहराङ्ग सव १ डुबान सहन सक्ने जातहरू हुन्। बहुगुणी १ र बहुगुणी २ जातहरू सुख्खा र डुबान दुवै सहन सक्ने जातहरू हुन्।
यी जातहरूको अलावा जलवायु अनुकूलित खेती प्रविधिहरू पनि विकास भएका छन्। यस्ता प्रविधिमध्ये कम पानी चाहिने छरुवा धान प्रविधि मुख्य हो। यस प्रविधि अन्तर्गत हिल्याएको जमिन वा (मसिनो गरी तयार पारिएको) सुख्खा जमिनमा २४ घण्टा भिजाएको धानको बीउ छरिन्छ। यस प्रविधि अनुसार धान खेती गर्दा हिल्याएर रोपिने धान खेतीको तुलनामा पानीको आवश्यकता ३० प्रतिशतसम्म कम हुने, श्रमिक खर्च कम हुने, सातदेखि दश दिन छिटो धान बाली तयार हुने लगायतका फाइदा रहेका छन्।
धान खेतीमा निरन्तर पानी पटाउनु आवश्यक नपर्ने प्रमाणित भइसकेको छ। धान खेतमा निरन्तर पानी लगाउँदा अनावश्यक रूपमा पानी खेर जानुको साथै खर्च बढ्ने तथा हानिकारक हरितगृह ग्याँस मिथेन उत्सर्जन हुने हुँदा यस्तो अभ्यास जलवायु अनुकूलित छैन। यसको विकल्पको रूपमा धान खेतमा पानी निरन्तर नराखी पालैपालो केही दिन पानी लगाउने र सुकाउने प्रविधि पनि विकास गरिएको छ। यसमा धान खेतमा रौं चिरा जस्ता धाँजा फाट्न सुरु भएपछि मात्र सिंचाई दिने गरिन्छ।
अर्को प्रविधि धानको एउटा बिरुवा मात्र रोप्ने हो जसलाई एसआरआई भनेर चिनिन्छ। यस प्रविधिमा पनि ५० प्रतिशतसम्म पानी कम खपत हुने, बीउ ९० प्रतिशतसम्म नै कम लाग्ने र उत्पादन पनि बढी हुने पाइएको छ। यी बाहेक पनि धान बाली मात्रै नलगाई विविध बालीको खेती गरिने बाली विविधीकरण पद्धति, संरक्षण कृषि, शुन्य खनजोत प्रविधि, प्रिसिजन धान खेती लगायतका जलवायुमैत्री धान खेतीका प्रविधि एवं अभ्यासहरू अन्य देशहरूमा व्यापकता गर्दै गरेको भए पनि हामी कहाँ अनुसन्धान केन्द्र र केही सीमित प्रगतिशील कृषकहरूकोमा सीमित छन्।
आसन्न संकटको सामना गर्न अब हामीले हाम्रो विकास सम्बन्धी सोच, नीति, योजना, कार्यक्रम, कार्यशैली र सुशासनको अवस्थामा व्यापक परिवर्तन नगरी सम्भव छैन। मौसमको अनिश्चितता बढ्दै गएको र तापक्रम वृद्धिको कारण बालीको जीवनचक्रमा समेत परिवर्तन आउन थालेको अबको समयमा छिटो तयार हुने जातहरू लगाउने र बाली लगाउने समयलाई पनि मौसमको प्रवृत्ति अनुसार अदलबदल गर्नुपर्ने भएको छ। त्यस्तै अबका दिनमा कृषकहरूले जल तथा मौसम विज्ञान विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषदबाट संयुक्त रूपमा जारी हुने मौसम पूर्वानुमानको साथै खेतीपाती सम्बन्धी सल्लाह समावेश गरिने बुलेटिन बमोजिम खेतीपाती गरेमा प्रतिकूल मौसमबाट व्यहोर्नुपर्ने नोक्सानबाट केही हदसम्म बच्न सक्ने छन्।