झापामा फल्यो ८१ प्रजातिको रैथाने धान


साथसाथै न्युज
८, मंसिर २०८०
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापा- झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ। शिवसताक्षी नगरपालिका-७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन्। रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई उक्त जग्गामा रोपेर फलाइएको समितिका अध्यक्ष डिल्ली पौडेलले बताए।

'वर्णशङ्कर बीउको विकास र प्रचलनका कारण पुराना रैथाने बाली लोप हुँदै गएका कारण तिनको संरक्षणमा हामी जुटेका हौं,' उनले भने, 'कालो नुनिया जस्ता लोप भइसकेका धानको विभिन्न प्रजाति खोजेर फेरि किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ।'

समितिले भाडामा लिएको खेतको एउटै गरामा ८१ प्रजातिका धानका बाला झुलिरहेको हेर्न कृषि विषय अध्ययन गरिरहेका विद्यार्थी र सर्वसाधारण समेतको भीड लाग्ने गरेको छ।

संरक्षण गर्न खेतमा फलाइएका रैथाने धान बालीमा कालो नुनियाका चार प्रजाति छन्। तीमध्ये कालो नुनिया-१ र कालो नुनिया-१० प्रजाति समिति आफैंले खोज गरेर सरकारी निकायमा नाम दर्ता गराएको हो।

जुम्लामा फल्ने मार्सीदेखि पूर्वी पहाडको इलाममा पाइने दुधराज प्रजातिको धान उक्त खेतमा फलाइएको छ। बासमतीका रातो, पहेंलो, कालो र टुँडे प्रजातिका धानसमेत त्यहाँ फलाइएको छ। समितिले रैथाने धान फलाइएको खेतलाई ‘प्रदर्शनी ब्लक’ नाम दिएको छ।

त्यहाँ फलेका धानमा कतारखेरा, कालो टुँडे बासमती, जङ्गली मन्सुली, रुद्राक्ष, जुङ्गे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली र घिउपुरी रहेका छन्।

त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया-१, कालो नुनिया-१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन-३, बङ्गलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघ जुङ्गे धान उक्त खेतमा फलेको छ।

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) नामक गैरसरकारी संस्थाको सहयोगमा ती धानका रैथाने प्रजाति देशभरबाट सङ्कलन गरिएको समितिकी सहजकर्ता जानुका मगरले बताइन्।

रैथाने प्रजातिका धानको बीउ लोप हुन नदिन र किसानलाई रैथाने खेतीतर्फ आकर्षित गर्न एउटै खेतमा ८१ प्रजातिको धान फलाएर प्रदर्शन गरिएको उनले बताइन्।

विसं २०६५ मा समितिको स्थापना भएको र त्यसको एक वर्षपछि झापाको शिवसताक्षी वडा नं ७ मा रैथाने बालीको बीउ बैंक स्थापना गरिएको सहजकर्ता मगरले बताइन्।खेतमा फलेको धानलाई बीउ बैंकमा राखेर इच्छुक किसानलाई खेतीका लागि वितरण गरिने भएको छ।

सोही बीउ बैंकमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी संरक्षण गरेर राखिएको छ।

समितिले शिवसताक्षी वडा नं ६ र ७ का एक हजार ७० जना किसानलाई २२ समूहमा सङ्गठित गरेर संस्थाको सदस्य बनाएको छ। ती सदस्यलाई समितिले रैथाने जातका अन्न र लहरे तरकारी बालीको बीउ उपलब्ध गराउँदै आएको छ।

सदस्यले उत्पादन गरेको रैथाने बाली संस्थाले खरिद गर्दै आएको छ। किसानबाट वार्षिक रूपमा खरिद गर्दै आएको ७५ मेट्रिक टन बालीलाई प्रशोधन र उमारशक्ति परीक्षण गरेर अन्य किसानलाई सहुलियत मूल्यमा बिक्री समेत गर्दै आएको सहजकर्ता मगरले बताइन्।

हराउँदै गएको रैथाने बालीलाई संरक्षण गरेर कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले मुलुकको कृषि क्षेत्रलाई नै योगदान पुर्‍याइरहेको शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीले बताइन्। नगरपालिकाले संस्थाको रचनात्मक कार्यमा प्रोत्साहन दिइरहेको समेत उनले बताइन्। -रासस

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend