वर्षाले धानबालीमा क्षति


२१, असोज २०८०
वर्षाले धानबालीमा क्षति



भरतपुर-  केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले  काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।

धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । “अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन”, उहाँले भन्नुभयो, “अझै केही दिन पानी पर्ने हो भने यहाँ  समस्या हुन्छ ।” उहाँका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ ।

केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उहाँले बताउनुभयो । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् ।

 निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताउनुभयो ।

“मैले दुई बिघामा धान लगाएको हो । त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ”, खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उहाँले भन्नुभयो, “धान रोप्न गरेको लगानी पनि खेर गयो ।” खेत रोप्न रु २५ हजार लागेको उहाँले बताउनुभयो । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।

शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोप्नुभएको थियो । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उहाँले बताउनुभयो । “मेरो खेत नै यति मात्रै । उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो”, उहाँले भन्नुभयो, “मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु ।” काट्न १० जना खेताला लागेको उहाँले बताउनुभयो ।

समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन्  । “छ–सातवटा बालबालिका छन् । अरु कमाई छैन । यही खेती गरेर खाने हो”, शरणपुरकी शिला लामिछानेले भन्नुभयो, “वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो ।” चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती गरिँदै आइएको छ ।

(रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend