जलवायु परिवर्तन कहर : सगरमाथा क्षेत्रका महिलाको प्रजनन स्वास्थ्यमा संकट


२२, फागुन २०८१
जलवायु परिवर्तन कहर : सगरमाथा क्षेत्रका महिलाको प्रजनन स्वास्थ्यमा संकट

सोलुखुम्बु-  सगरमाथा क्षेत्रका महिलाहरू जलवायु परिवर्तनका कारण गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । विशेषगरी प्रजनन स्वास्थ्यमा प्रत्यक्ष असर देखिएको छ। महिनावारी अनियमितता, गर्भधारणमा समस्या, बाँझोपन र अत्यधिक रक्तस्रावका घटनाहरू बढ्दै गएका छन्। उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा यो समस्या सामान्यजस्तै भइसकेको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको भोगाईले जलवायु परिवर्तनले महिलामा पारिरहेको असरलाई उजागर गर्दछ। उनका अनुसार महिनावारी अनियमित हुने मात्र होइन, काठमाडौँमा उपचार गराएपछि सामान्य भए पनि गाउँ फर्किएपछि समस्या पुनः दोहोरिन्छ। “यहाँको हावापानीले असर गरिरहेको हुनसक्छ,” उनले भनिन्। 

शेर्पा जस्ता प्रजनन स्वास्थ्य समस्या लिए बसेका महिलाहरु हिमाली भेगमा धेरै छन्। तर धेरै जसो महिलाहरुले आफ्नो समस्या खुलेर अभिव्यक्त गर्न हिचकिच्याउने गरेको नाम्चेका एक व्यवसायी लामाकाजी शेर्पाले बताए। ”पछिल्लो केही दशक यता हिमाली क्षेत्रका महिलाहरु प्रजनन स्वास्थ्य समस्यासँग जुधिरहेका छन् तर धेरै जसोले आफ्नो समस्याबारे खुलेर बोल्न सक्दैनन् । यो जलवायु परिवतैनको असरकै एउटा उपज हो ।” शेर्पाले भने।

स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार महिनावारी अनियमितता, अत्यधिक रक्तस्राव, गर्भपतन, र प्रजनन असफलता जस्ता समस्याहरू खुम्बु क्षेत्रका महिलामा बढ्दै गएका छन्। कतिपय महिलाहरू स्वास्थ्य संस्थामा जाँच गराउन आउँदैनन्, जसले गर्दा उनीहरूको समस्या झन् गम्भीर बन्ने गरेको छ । जलवायु परिवर्तनका कारण हर्मोन सन्तुलन गडबड हुन सक्ने नेपाल चिकित्सक संघका महासचिव सञ्जीव तिवारीले बताए।

 यसले प्रजनन क्षमतामा असर पार्ने, गर्भधारण कठिन बनाउने र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने सम्भावना रहने उनको भनाइ छ । महिलाहरूको प्रजनन स्वास्थ्यमा जलवायु परिवर्तनको गहिरो प्रभाव परेको हुन सक्ने भएकाले यसबारे थप अनुसन्धान आवश्यक छ।

जलवायु परिवर्तनले बढाएको पर्यावरणीय संकट

सगरमाथा क्षेत्रमा मौसममा आएको अप्रत्याशित परिवर्तनले यहाँको पर्यावरणमा नकारात्मक असर पारेको छ। हिमनदीहरू खस्कँदै गएका छन्, बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले स्थानीय जनजीवन अस्तव्यस्त बनाएको छ। आधार शिविर गहिरिँदै जानु, आरोहीहरूले छोडेका फोहोरका कारण तापक्रममा थप असर पर्नु र खेतीयोग्य जमिन बाँझो हुँदै जानुले पनि महिलाहरूको स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको छ । पर्यटन व्यवसायी साङ्गे शेर्पाका अनुसार आधार शिविर वर्षैपिच्छे गहिरिँदै गएको छ । हिमनदीहरू पग्लँदै गएका छन्, जसले गर्दा जलवायु सन्तुलनमा थप असर पु¥याइरहेको छ ।


स्थानीय खाद्य सुरक्षामा गिरावट, महिलाको पोषणमा असर

खुम्बु क्षेत्रका कृषि उत्पादनहरूमा भारी गिरावट आएको छ। यहाँ परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापर जस्ता अन्नबाली अब पहिलाजस्तो उत्पादन हुन सकेका छैनन्। स्थानीय महिला पासाङ ल्हामु शेर्पाले भनिन, “पहिले यहाँ उवा, फापर प्रशस्त फल्थ्यो, अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपरेको छ।” कृषि उत्पादनमा गिरावट आएपछि महिलाहरूको पोषणमा प्रत्यक्ष असर परेको छ।

पोषणको अभावले गर्भवती महिलाहरूको स्वास्थ्य झन् कमजोर बन्ने जोखिम छ । यसले नवजात शिशुहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पु-याउने सम्भावना छ। स्थानीय उत्पादन घट्दै जानु, मौसम परिवर्तनका कारण पुराना खेतीप्रणाली असफल हुनु, र आयातित खाद्य सामग्रीमा निर्भरता बढ्नुले यहाँका महिलाहरू थप समस्यामा परेका छन्। 

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हालै अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएको देखाएको छ। सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पु-याएको छ। प्लास्टिक, खाद्यान्नका प्याकेट र अन्य गैरजैविक फोहोरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ। 

पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार आरोहीहरू यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन्। सधैँ चाँदी झैँ टलक्क टल्कने हिमालहरू काला पहाडमा परिणत हुँदैछ जसका कारण पनि जलवायु परिवर्तनको असरको चपेटामा सगरमाथा क्षेत्र परेको पुष्टि हुने लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठले बताए। जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाको स्वास्थ्यमा दीर्घकालीन असरपर्ने सम्भावना देखिएको छ। वातावरणविद् डा. राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योग र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न आवश्यक 

जलवायु परिवर्तनका असरहरू रोक्न सामूहिक प्रयास आवश्यक रहेको साथसाथै फाउण्डेसनका अध्यक्ष एवं अभियान्ता प्रजिता कार्कीले बताइन्। विशेष स्वास्थ्य सेवा कार्यक्रमः हिमाली भेगका महिलाहरूलाई लक्षित गर्दै स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने आवश्यकता छ। जलवायु अनुकूलन रणनीतिः वातावरणीय असन्तुलन न्यूनीकरणका लागि दीर्घकालीन योजनाहरू आवश्यक छन्।

जलवायु परिवर्तन र प्रजनन स्वास्थ्यबीचको सम्बन्धबारे थप अनुसन्धान गर्न वैज्ञानिक अध्ययन गर्नुपर्ने अध्यक्ष कार्कीको भनाइ छ। पोषणमा सुधार ल्याउन परम्परागत बालीहरू संरक्षण गर्नुपर्ने स्थानीय जानकारहरुको तर्क छ। जलवायु परिवर्तन न्यूनीकरणका लागि शक्ति राष्ट्रहरूले ठोस कदम चाल्नुपर्छ। 

यदि जलवायु परिवर्तनलाई समयमै नियन्त्रण गर्न सकिएन भने सगरमाथा क्षेत्रका महिलाहरूको स्वास्थ्य संकट गहिरिँदै जानेछ। स्थानीय तथा अन्तर्राष्ट्रिय निकायहरू एकजुट भएर समाधानको उपाय खोज्न आवश्यक रहेको विज्ञहरु बताउछन्।

- सुवास दर्नाल

सम्बन्धित समाचार

  • ‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

    काठमाडौँ - काठमाडौँ उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा

  • माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

    चितवन, ४ असारः यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३

  • ‘जलवायु चेतना प्रभावकारी बनाउन एकीकृत प्रयास आवश्यक’

    काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी चेतना जनस्तरसम्म बढ्दै गएको

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend