काठमाडौं- वनजङ्गल भएको क्षेत्रलाई खेतबारी र सहर बनाउँदा पशुबाट विभिन्न रोग मानिसमा सर्ने सम्भावना बढेको वैज्ञानिकहरूले बताएका छन्।
एउटा अध्ययनका अनुसार प्राकृतिक प्रदेशमा मानिसले गरेको परिवर्तनका कारण गर्दा धेरै वन्यजीवहरू विस्थापित हुने भए पनि रोग बोक्न सक्ने प्रजातिहरूलाई त्यो फाप्न सक्छ।
यो अध्ययनले प्रकृतिको दोहनका कारण महामारी बढ्ने मान्यतालाई पुष्टि गर्ने प्रमाण थपेको छ। चारवटा नयाँ रोगमध्ये तीनवटा पशुपक्षीबाट आएको वैज्ञानिकहरूको अनुमान छ।
मानिसहरूले स्थानको स्वरूप परिवर्तन गरिँदिँदा सङ्क्रामक रोग फैलाउन सक्ने प्रजातिलाई आफू फैलिन सहज भएको यो अध्ययनले देखाएको छ।
वन्यजीवको प्राकृतिक वासस्थानलाई खेतबारी, चरन र बस्ती बनाउँदा मानिसहरूले थाहा नपाईकनै रोग लगाउने कीटाणुहरू आफूमा सर्ने सम्भावना बढाएका हुन्छन्।
'हाम्रो अध्ययनले मानवको बढी प्रभाव भएको वातावरणमा बस्ने जीवले सङ्क्रामक रोग बोक्न सक्ने र मानिसलाई बिरामी पार्न सक्ने देखाएको छ,' यूनिर्सिटी कलेज लन्डन (यूसीएल) का रोरी गिबले भने।
वनजङ्गल, घाँसेमैदान र मरुभूमिलाई सहर वा खेत बनाउँदा धेरै वन्यजीवहरू लोप भएका छन्। मानिसले पृथ्वीको आधाभन्दा बढी बस्नयोग्य भूमिमा परिवर्तन गरेका छन्।
लामो आयु भएका र विशेष वासस्थान चाहिने गैँडाजस्ता जीवको तुलनामा छोटो आयु भएका र जहाँ पनि पाइने मुसा र परेवाजस्ता पशुपक्षी मौलाएका छन्।
अन्य वन्यजीव मासिए पनि धेरै किसिमका विषाणु बोक्न सक्ने मुसा र लोखर्के जातका जीवहरू सहरमा मौलाउँछन्। यो नयाँ प्रमाण झन्डै ७,००० वटा प्रजातिबारे गरिएका १८४ वटा अध्ययनबाट सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर निकालिएको हो। ती प्रजातिमध्ये ३७६ वटाले मानिसमा रोग लगाउने जीवाणु सार्ने गरेका छन्।
रोग लगाउने जीवाणु अन्य जीवबाट मानिसमा सर्ने प्रक्रियालाई वैज्ञानिकहरुले ‘स्पिलओभर’ भन्ने गरेका छन्। त्यसका लागि विभिन्न कारकहरूको भूमिका हुन्छ। केही जीवाणुहरूले महामारी गराउँछन्। तीमध्ये केही महामारी विश्वव्यापी बन्छन्।
वन्यजीवको सिकार, तस्करी वा वासस्थानको विनाशले हुने संसर्गका कारण नयाँ रोगको जोखिम बढ्ने कुरा हामीलाई थाहा छ।