लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि


४, पुस २०८०
लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि

काठमाडौं -  उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो।
 
पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो। मधुमेहको बिरामी उहाँ हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट ब्युँझिनु हुन्छ। उक्त बिहान पनि सबेरै ब्युँझिनु भएको उहाँ आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेरे हात्तीले घरको पर्खाल भत्काएको थियो । हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए।
 
गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पु¥यायो । एक्लै लुसुलुसु आउने जङ्गली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको न्यौपाने बताउनुहुन्छ । गाउँका मानिस घरधन्धा, गोठको काम र विद्यार्थीका लागि सबेरै उठ्ने गर्छन्। ‘मर्निङ वाक’ हिँड्ने चलन पनि गाउँमा छ । तर बिहानीपख लुसुलुसु गाउँ छिर्ने बानी परेका हात्तीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ। 
 
जिल्लाका अधिकांश स्थानमा कक्षा ११ र १२ का मात्र नभएर स्नातक तहको कक्षा बिहान सञ्चालन हुने गरेको छ । “हाम्रो छोरो झिसमिसेमै साइकल चलाएर सात किलोमिटर टाढा धुलाबारीमा पढ्न जान्छ,” मेचीनगर–१५ सुकुम्वासी बस्तीका दुर्गाबहादुर बुढाथोकी भन्नुहुन्छ, “बाक्लो हुस्सु लागेको हुन्छ। हात्ती पनि जताततै भेटिन थालेका छन्। कलेज पठाउन पनि डरमर्दो भइसक्यो ।” झापाका १५ वटै पालिका हात्ती प्रभावित छ ।
 
डिभिजन वन कार्यालय झापाले जिल्लाको वन क्षेत्रमा हाल तीन दर्जनभन्दा बढी हात्तीले आश्रय लिइरहेको जनाएको छ । जिल्लाको सबैतिर अभिभावकहरु आफ्ना छोराछोरीलाई बिहानीपख स्कुल–कलेज पठाउन डराउन थालेका छन्।
 
बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बस्तीमा दिनहुँ जङ्गली हात्ती पस्ने गरेको बताउनुभयो। साँझ नपर्दै बस्ती पस्ने हात्तीले मानिसलाई आक्रमण गर्ने, बाली खाएर क्षति पु-याउने र घर भत्काउने उपद्रो गर्दै आएका छन् । जङ्गली हात्तीबाट जीउधन जोगाउन स्थानीयवासी रातभर जागा बस्ने गरेको बाँस्तोलाले बताउनुभयो। स्थानीय युवाहरु साँझ पर्ने बित्तिकै हात्तीको गस्तीमा खटिने र रातभर जाग्राम बस्ने गरेको उहाँले जानकारी दिनुभयो। 
अभिभावकहरुलाई छोराछोरी हात्तीको लखेटाइमा पर्लान् कि भन्ने चिन्ता थपिएको छ।
 
“जसोतसो रातभर जाग्राम बसेर हात्ती लखेट्छौँ,” उहाँले भन्नुभयो, “स्कुल पठाउँदा समेत चिन्ता हुन थालेको छ। अब घर र सडक कतै पनि सुरक्षित रहेन।” आज बिहान कलेज जाँदा हात्तीसँग जम्काभेट भएकी कृतिका उहाँकी दाजुकी छोरी हुन्। कृतिकासँगै भतिज किरण बाँस्तोला सडकमा कलेज बसको हर्न बज्ने बित्तिकै घरबाट निस्किएको जनाउँदै उहाँले भन्नुभयो, “चिसोका कारण बाक्लो हुस्सु लागेको थियो। उनीहरु यताउता नहेरी गाडी रहेको सडकतिर उक्लँदै थिए। एक्कासि सडकमा हात्ती आइपुग्यो।”
 
दुवै विद्यार्थी विर्तामोडको निधि कलेजमा पढ्छन् । आज भागेर ज्यान जोगाउन सफल उनीहरु भोलिदेखि कलेज कसरी जाने भन्ने कुराले चिन्तित छन् । दिनभर स्थानीय आदर्श सामुदायिक वन क्षेत्रमा लुकेर बस्ने पाँच हात्ती साँझ पर्ने बित्तिकै एक्लाएक्लै गाउँ छिर्ने गरेको उहाँको भनाइ छ। दैनिकजसो गाउँ डुल्ने जङ्गल हात्तीका कारण बुद्धशान्तिको जङ्गल आसपासका बच्चादेखि वृद्धवृद्धासम्म घरबाट बाहिर निस्कन डराउँछन्।
 
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लाभर जङ्गली हात्तीको बिगबिगी रहेको स्वीकार गर्नुभयो । उहाँले जलथल, पृथ्वीनगर, रङ्गेडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको बताउनुभयो।
 
विभिन्न वनमा छरिएर बसेका र हूल बाँधेर हिँड्ने हात्ती नियन्त्रण गर्न स्रोत र साधनको समस्या भइरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “एकैपटकमा दश ठाउँबाट हात्ती गाउँ पस्यो भनेर खबर आउँछ । कार्यालयसँग जम्मा एउटा गाडी छ । प्रहरीको सहयोग लिएर हात्ती धपाउने काम गरिरहेका छौँ।” उहाँले झापाको जङ्गलमा हाल ४० वटा जङ्गली हात्ती रहेको अनुमान गरिएको बताउनुभयो। 
 
दैनिक घर भत्किएका र बालीनाली खाइदिएको लगायतका समस्या हुने गरेको गुनासो बढ्न थालेको उहाँले जानकारी दिनुभयो । हात्तीलाई जङ्गलबाट बाहिर निस्कन नदिन मेचीनगर, भद्रपुर र हल्दिबारीको जङ्गल वरिपरि राज्यको करोडौँ लगानीमा दर्जनौँ किलोमिटर लामो विद्युतीय घेराबेरा गरिएको छ। स्थानीयले आफूखुशी घरलाई वरिपरिबाट विद्युत् तारले घेर्ने समेत उपाय गर्दै आएका छन्। तर विद्युत् तार पन्छाउन अभ्यस्त भइसकेको हात्तीले मानव बस्तीलाई निशाना बनाउन छाडेको छैन।
 
रासस

सम्बन्धित समाचार

  • जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

    जुम्ला, ४ असारः जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात्

  • नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

    गण्डकी- नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ। पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ

  • पुरैनी तालमा चराको सङ्ख्या घट्यो

    कञ्चनपुर- बेलौरी नगरपालिका ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend