बाँदर आतंकले किसान हैरानी


साथसाथै न्युज
१४, साउन २०८०
बाँदर आतंकले किसान हैरानी

बागलुङ- बागलुङको अधिकांश ग्रामीण क्षेत्र जङ्गलसँग जोडिएका छन्। जङ्गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ। हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ। यतिबेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन्। बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन्। छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन्।

उनीहरु यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन्। एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन्। यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नुपर्ने बाध्यतामा उनीहरू छन्। 

जिल्लाको धेरै स्थानमा रातो बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतङ्क मच्चाउने गरेको कृषकले गुनासो गर्दै आएका छन्। हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने गरेको पाइन्छन्। तर बाँदर नियन्त्रणका लागि स्थानीय पालिकाले कुनै नीति नल्याउँदा किसान निराश छन्।

सयौँको सङ्ख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताए। असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको जनाउँदै उनले अब असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्न नपर्ने बताउनुभयो। बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। 

'पहिले–पहिले बाँदर कम लाग्थ्यो, अहिले निकै ठूलो सङ्ख्या आउँछन्, दुई–तीन सयको सङ्ख्यामा आउने बाँदरले सिङ्गो बारीको मकै १० मिनेटमै सखाप पारिदिन्छ, त्यही भएर बिहानैदेखि यहाँ बस्नुपर्छ,' उनले भने, 'के गर्ने बल्लतल्ल दुःख गरेर बाली लाइयो, यहाँ कुरेर बसिएन भने वर्षभरि भोकै बस्नुपर्छ, यो गाउँको सबैभन्दा ठूलो शत्रु नै बाँदर हो, हामी वर्षौँदेखि आजित भएका छौँ, सरकारले यो समस्या समाधानका लागि केही उपाय दिए ठूलो राहत मिल्ने थियो।'

कतिपय किसानले बाँदरलाई डराउन दिनका लागि बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको डमी बनाएर राखेको देखिन्छन्। पहिले–पहिले कुकुर र डमीदेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको निसीखोलाका किसान निमबहादुर घर्तीले बताए। उनले घरमा कम सदस्य हुने परिवारले मान्छे खोजेर भए पनि कुरुवा राख्ने गरेको बताए। बाँदर कुर्दा घरको अन्य काम गर्न नपाउने घर्तीले दुःखेसो पोखे। बाँदरले हैरानी बनाएपछि गाउँका खेतीयोग्य जमिनमा बाली लगाउन छाडिएको उनको भनाइ छ।
 
घर्तीले भने, 'बाँदर नियन्त्रण गर्न धेरै कोसिस गरियो, धेरै उपाय पनि अपनाइयो तर सकिएन, दिनभरि कुरुवा नबसेसम्म बाली जोगिन्न, पहिले–पहिले कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थालेको छ, मान्छे हैरान भइसके, त्यही भएर खेती पनि गर्न छाडे, हामी सानो–सानो हुँदा गाउँमा कुनै पनि बारी बाँझो रहँदैनथ्यो, अहिलेजस्तो बाँदर आतङ्क पनि थिएन, राम्रो उत्पादन हुन्थ्यो, अहिले घर अगाडिकै बारीमा आएर बाँदरले बाली खाइदिन्छ, त्यही भएर पनि मान्छेहरू बसाइँ सरे।'

बाँदर नियन्त्रणका लागि निसीखोला गाउँपालिका–४ ले अघिल्लो वर्ष रु साढे चार लाख छुट्याएर काम गरेको थियो तर प्रभावकारी भने हुनसकेको थिएन। यस वर्ष नयाँ प्रविधिको प्रयोग गरेर बाँदर नियन्त्रण गर्ने योजना रहेको वडाध्यक्ष टीकानिधि पौडेलले बताए। पछिल्लो समय लेक–लेकबाट मध्यगाउँमै बाँदर आउन थालेको उनको भनाइ छ। कृषकलाई आधुनिक प्रविधिसँग जोडेर बाँदर आतङ्कबाट मुक्त बनाउनका लागि तीनवटै सरकारले सहकार्य गर्नुपर्ने अध्यक्ष पौडेल बताए।

'बाँदर आतंक बढ्दै गएको छ, पहिले यस्तो समस्या हुँदैनथ्यो, बसाइँसराइको प्रभाव हो कि, के हो अहिले गाउँगाउँमै बाँदर बस्न थालेको छ, हामीहरूले यसको नियन्त्रणका लागि केही प्रयास गर्यौँ तर त्यत्ति प्रभावकारी भएन,' उनले भने, 'अब अलि फरक तरिकाले लाग्नुपर्ने देखियो, बाँदर धपाउने बन्दुक पट्काउँदा सुरुमा डराउने गरेको पाइयो पछिपछि टेर्न छाड्यो भन्ने गुनासो सुनियो, अब यसको दीर्घकालीन समाधान के हो त्यसका लागि विज्ञसँग बुझ्ने र समधान गर्नतर्फ लाग्नुपर्ने भयो।'

सम्बन्धित समाचार

  • सप्तकोशीमा डल्फिन गणना

    इटहरी (सुनसरी)- कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ

  • कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

    बेलबारी (मोरङ)- कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र

  • शुक्लाफाँटामा बाघ बढे

    दोधारा चाँदनी- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend