लैंगिक समानता र जलवायु संकटको सन्दर्भ
यस सम्मेलनले १९९५ मा बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनबाट जारी गरिएको घोषणापत्र र कार्ययोजनामा आधारित रही, एसिया–प्यासिफिक क्षेत्रमा लैंगिक समानताको प्रगतिलाई समीक्षा गर्दै सुधारका उपायहरू पहिचान गर्ने उद्देश्य राखेको छ।
यूएन विमेनकी प्रबन्ध निर्देशक सिमा बाहोसले सम्मेलनको उद्घाटनमा घरेलु श्रममा महिलाको योगदानलाई उचित मूल्याङ्कन गर्नुपर्ने र जलवायु संकटजस्ता चुनौतीहरूको समाधानमा महिलाको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याइन्।
एसियाली आर्थिक तथा सामाजिक आयोगका सचिव अमरिदा सैलिसह अलिसजाबन्दले जलवायु संकट र डिजिटल रूपान्तरणमा महिला नेतृत्वको महत्त्वलाई उजागर गर्दै, जलवायु परिवर्तनको असर कम गर्न महिलाको सशक्तिकरण अपरिहार्य रहेको बताइन्।
नेपालका जलवायु र लैंगिक समानताका प्रतिबद्धता
नेपालका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव आभा श्रेष्ठ कर्णले जलवायु संकटमा महिलाको नेतृत्वलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै, केयर कार्यलाई मान्यता दिने, डिजिटल पहुँचमा लैंगिक खाडललाई साँघुरो बनाउने, र महिला विरुद्धको हिंसा न्यूनीकरणका लागि नेपालले चालिरहेको कदमबारे जानकारी गराइन्।
जलवायु संकटमा महिला नेतृत्वको भूमिका
सम्मेलनका वक्ताहरूले जलवायु संकटले महिलाहरूलाई असमान रूपमा प्रभावित गर्ने र यो समस्याको समाधानका लागि उनीहरूको नेतृत्वलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
थाइल्याण्डका सामाजिक विकास तथा मानव सुरक्षा मन्त्री भरावुत सिल्पाले जलवायु संकट समाधानमा महिलाहरूलाई साधन र स्रोतमा सहज पहुँच दिँदै, आर्थिक सशक्तीकरणमार्फत नेतृत्वदायी भूमिकामा स्थापित गर्न सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए।
साझा प्रयास र हरित भविष्य
सम्मेलनले लैंगिक समानता र जलवायु संकट समाधानमा साझा प्रयास आवश्यक रहेको र यसले हरित र समृद्ध भविष्य निर्माणमा योगदान पुर्याउने विश्वास लिएको छ। सहभागी देशहरूले आगामी मार्च २०२५ मा अमेरिकामा हुने विश्व सम्मेलनका एजेन्डाहरूलाई थप बलियो बनाउन जलवायु संकटसँग सम्बन्धित मुद्दाहरूमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएका छन्।
यस सम्मेलनले महिला नेतृत्वद्वारा हरित समाधानको अवधारणालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।