बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो


साथसाथै न्युज
२४, वैशाख २०८१
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो


नेपालगञ्ज- बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । 

जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजजनका चार, कोहलपुर सव डिभिजनका २२ र शम्शेरगञ्ज सव डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ । बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् ।  

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिनुभयो । उहाँले डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको बताउनुभयो । 

डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापर्वाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ ।
 
राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी दुई सय ५० देखि दुई सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा एक दशमलव २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताउनुभयो । 

डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन् । शम्शेरगञ्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो  १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो । आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगञ्ज तथा नरैनापुरको बारुणयन्त्रको समेत सहयोग लिइएको थियो । शम्शेरगञ्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन चौबिसै घण्टा तैनाथ राखिएको छ ।

शम्शेरगञ्ज सव डिभिजन कार्यालयका वन अधिकृत सुशील सुवेदीले फाट्टफुट्ट घटनाबाहेक बाँकेमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्नुभयो । 

बाँकेमा एक सय पाँच आगलागीका घटना

बाँकेका विभिन्न स्थानीय तहमा आगलागीका एक सय पाँच घटना भएका छन् । विसं २०८० साउनदेखि वैशाखसम्म भएका उक्त घटनामा एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी  जोरासिंह माझीले जानकारी दिनुभयो । 

ती आगलागीका घटनामा एक सय चार पशु चौपाया मरेका छन् । आगलागीका घटनाबाट रु एक करोड ७७ लाख ५९ हजार बराबरको क्षति भएको छ । जिल्लाको नरैनापुर, राप्तीसोनारी, जानकी गाउँपालिका र नेपालगञ्जमा आगलागीका घटना भएका हुन् ।  

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

    पर्वत - जिल्लाको जलजला गाउँपालिका७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर

  • बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण

    काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरुभएसँगै बागमती नदीमा बाढीबाट सम्भावित जोखिम क्षेत्रको

  • बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

    काठमाडौं - सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend