डढेलोका कारण वायु प्रदूषण : बिरामी बढे


साथसाथै न्युज
७, वैशाख २०८१
डढेलोका कारण वायु प्रदूषण : बिरामी बढे


गलेश्वर - म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

सिमलचौरलगायत जिल्लाका पाँच सामुदायिक वनमा लागेको डढेलोका कारण तँुवालोले वातावरण प्रदूषित बनाउँदा आँखा दुख्ने, छाती पोल्ने, रुघाखोकी र ज्वरो आउने, दम बढ्नेजस्ता बिरामी बढेको पश्चिम म्याग्दीको दरबाङ अस्पतालका चिकित्सक यमन नेपालीले जानकारी दिए ।

उनका अनुसार अहिले दैनिक ३० जनाभन्दा बढी बिरामी वायु प्रदूषणबाट ग्रस्त भएका भेटिएका छन् । चैतदेखि वैशाख पहिलो सातासम्म म्याग्दीका ७५ भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजार बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा डढेलो लागेपछि धुवाँ र तुवाँलोका कारण वातावरण विषाक्त बनेको तथा बिरामी हुनेक्रम पनि बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि एक सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

एक साताअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । बुधबार मुलछहरी सामुदायिक वनमा लागेको आगोले करिब डेढ सय हेक्टर वन क्षेत्र नाश हुनुका साथै जङ्गली जनावर बासस्थान छाडेर गाउँ पस्न थालेपछि गाउँलेहरु आतङ्कित भएका स्थानीयले बताएका छन् । 
 
सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीय परिचालित भएका छन् । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म खटिए पनि आगो निभाउन नसकेको स्थानीय भीमबहादुर रिजालले बताए।

यसैगरी पश्चिम म्याग्दीको निस्कोट, उपल्लो दरबाङ क्षेत्रका सामुदायिक वनमा आगलागी हुँदा करिब ८० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो । “यस वर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भयो, मानवीय लापरबाहीले आगलागी हुने गरेको छ”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधन नष्ट गर्ने गरिएको छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा रु १० लाख बजेटमा विभिन्न उपकरणसहितको सामग्री व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरेको छ । जङ्गलमा जथाभावी लगाइएको डढेलोको तथ्याङ्क गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको छ । 

डढेलोले वातावरण प्रदूषणसमेत बनाएको उनको भनाइ छ । जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उनले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । 
 (रासस) 

सम्बन्धित समाचार

  • आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका

  • वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

    काठमाडौँ- चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान

  • जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

    रमेश लम्साल/रासस काठमाडौँ- नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend