व्यक्ति विशेष

वन संरक्षण अभियन्ता : 'हात्तीको आमा' अर्थात् रेणु देवी शाह

चुरे दोहनले मधेश मरुभूमिमा परिणत हुनअघि सावधानी अपनाउन अपिल


साथसाथै न्युज
२७, पुस २०८०
वन संरक्षण अभियन्ता  : 'हात्तीको आमा' अर्थात् रेणु देवी शाह

काठमाडौं- मधेशी आयोगको सदस्य, मन्त्रीसरहको पद र सेवा-सुविधा;  पीएसओ, गाडी र चालक। बाहिरबाट हेर्नेलाई लाग्छ- मधेशी आयोगको सदस्य पदमा एक सम्पन्‍न परिवारबाट आएकी महिलालाई सरकारले नियुक्त गरेको रहेछ। तर, वास्तविकता भने नितान्त फरक छ। गरिबी, अभाव, अशिक्षा, उत्पीडन र पछौटेपनले घेरिएको समाजमा जन्मिएर भुइँमान्छेले भोगेका र देखेका दु:खका पहराहरु भत्काएर बाटो पहिल्याउँदै  मधेशी आयोगको सदस्यसम्म पुगेकी हुन्, माननीय रेणु देवी शाह। 

२०३१ साल कात्तिक २८ गते सप्तरीमा जन्मिन्। अहिले त छोरीलाई शिक्षा दिनु हुँदैन भन्‍ने मानसिकता पालेको समाज, आजभन्दा पाँच दशक पहिलेको अवस्था झनै के थियो होला, सोच्‍न पनि नसकिने। तर, बाबु-आमाको साथले विद्यालय भर्ना भइन र गाउँकै विद्यालयबाट एसएसलीसम्मको शिक्षा हासिल गरिन्। गाउँमा एसएलसीभन्दा माथि पढ्नका लागि विद्यालय थिएनन्। अनि असल ज्वाइँ खोजेर पठाउने आमा-बाबुको सल्लाहमा उनले मौन समर्थन जनाइन् र विवाह भयो। १६ वर्षको कलिलो उमेरमै परिवारको बोझ उनको टाउकोमा आयो। विवाहपछि तीन सन्तान जन्मिए। सन्तान हुर्काउनुपर्ने जिम्मेवारी थपियो। 

उनलाई अब आफ्नो भन्दा पनि सन्तानको भविष्यको चिन्ता सुरु हुन थालेको थियो। पारिवारिक बन्धनबाट माथि उठ्‍ने र समाज बदल्‍ने सोंच भए पनि त्यती सहज थिएन। महिलाले घुम्टो खोलेमा नै अपराध करार गर्ने समाजमा पनि परिवारको प्रेम र स्‍नेहले सफलता प्राप्त गर्न सकिन्‍छ भन्‍ने उदाहरण बन्‍न पुगिन्, रेणु। रेणु घरधन्दा गरिरहेको समयमा एकपटक पार्क पिपुल (पीपी) प्रोजेक्‍टका मानिसहरु वनजंगल जोगाउने विषयमा जनचेतना जगाउँदै उनको घरमा आइपुगे। 

उनले घरमा आएका पाहुनालाई स्वागत गरिन् र पानी दिइन्। उनको बारेमा प्रोजेक्टका मानिसहरुले सोधखोज गरेपछि पत्ता लाग्‍यो उनले एसएलसीसम्म पढेकी रहिछन्। मधेसमा एसएलसीसम्म पढेकी महिला र बोल्‍न र सिक्‍न खोज्‍ने महिला घरधन्दामा सीमित रहेको देखेर प्रोजेक्टका मानिसहरु आश्चार्यचकित परे। उनलाई सोधियो- यो प्रोजेक्टमा लाग्‍नुहुन्छ? उनले आफैंले हुन्छ भन्‍ने जवाफ दिन सकिनन् र पतिलाई सोधिन्। पतिले सहजै हुन्छ भनेपछि खुसी भएकी रेणुको जीवनको नयाँ ढोका खुल्यो। 

स्थानीय तहमा समूहहरु गठन गर्ने, उपभोक्ता समिति बनाउने र वफरजोन सामुदायिक वन विकास, वन संरक्षणसम्बन्धी शिक्षा दिने र जनचेतना जगाउने, आयआर्जन गर्ने र पर्यावरणीय पर्यटनलाई प्रबर्द्धन गर्ने उद्देश्य रहेको पार्क पिपुल्स प्रोजेक्टले समूह बनाउँदा रेणु सप्तरीको तत्कालीन जगतपुर गाउँ विकास समितिको समूहमा सर्वसहमतिमा सचिव पदमा छानिन्। जुन रेणुको महिलाले पनि काम गर्न सक्छन् भन्‍ने बुझाउनका लागि चालेको संघर्षको पहिलो पाइला थियो। 

उनले गाउँका टोल-टोलमा गएर वनजंगल जोगाउन र वन-जंगल जोगाउँदा हुने फाइदाहरुबारे बुझाउन थालिन्। उनले महिलाहरुलाई सशक्तिकरणका लागि झकझकाउन थालिन् र छोरीलाई पढाउनुपर्छ भनेर वकालत गर्न थालिन्। देशमा १० वर्षे द्वन्द्व चलिरहेको थियो। समय सहज नभए पनि पतिको साथ र साहसले रेणुलाई रोकिन दिएन। उनी पार्क पिपुल प्रोजेक्टसँग आबद्ध भएर कोशी टप्पु वन्यजन्तु आरक्ष जोगाउने अभियानमा करिब एक दशक काम गरिन्। 

२०६२ साल वैशाखमा उनी कोशी टप्पु वन्यजन्तु आरक्षको अध्यक्ष बनिन्। उनले गरेका कामहरुले अरुलाई पनि प्रेरित गर्‍यो र यतिको महिला अघि बढेमा मधेसका अरु महिलाहरुलाई पनि प्रेरणा मिल्छ भनेर नेपालको पहिलो महिला मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षसमेत उनलाई नै बनाइयो। उनको यहाँसम्मको यात्रा त्यति सहज भने थिएन। कहिले काठ तस्करहरुले धम्क्याउँथे भने कहिले चोरी सिकारी गर्ने समूहले 'ज्यान मार्ने' धम्की दिन्थे। 

उनले आफ्नो संघर्षका ठेली फुकाउनेक्रममा भनिन्, 'एकपटक मलाई तत्कालीन विद्रोही माओवादीका नेताले फोन गरेर तँ यो वन जोगाउने काम छोडिदे नत्र मारिदिन्छु भन्दै धम्की आयो। मैले जे गर्न सक्छस् गर भनेर आफ्नो काममा लागे। तर, घरमा नै वम राखिदिएको रहेछ। त्यो थाहा पाएपछि म पति र बालबच्चा लिएर भागेर हिँडेको थिएँ। मलाई देखेपछि आफूलाई पनि जोखिम हुने भयले अरु स्थानीयले पनि आश्रय दिएनन्। जसका लागि मैले काम गरेको थिएँ, अप्ठ्यारोमा उनीहरुले नै साथ नदिएको देख्दा विरक्त लागेको थियो।' 

यस्ता खिन्‍नताहरु देखेर कहिलेकाहीँ उनलाई सबै छोडेर आफ्नो घरधन्दा मात्रै गरौंजस्तो नलागेको पनि होइन। तर, उनको सपनाको उडान भने घरधन्दामात्र सीमित हुने थिएन। जस्तै कठिन परिस्थितिलाई पनि सामना गर्दै अघि बढ्ने अठोट लिएकी रेणुले २०६२ देखि २०७० सालसम्म दुई कार्यकाल कोशी टप्पु वन्यजन्तु आरक्षको अध्यक्ष भएर काम गरिन्। कोशी टप्पुको अध्यक्ष हुँदा उनले देशभरका राष्ट्रिय निकुञ्‍ज, आरक्ष र सामुदायिक वनहरुको अध्ययन-अवलोकन गर्ने मौका पाइन्। यसका साथ जंगल जोगाउनु भनेको जीवन जोगाउनु हो भन्‍ने अभियानलाई विस्तार गर्न लागिन्। 

२०६६ सालमा उनले एशियाली जनएकता अन्तराष्ट्रिय संगठन संस्थाको संस्थापक सदस्य पदमा रही विभिन्‍न देश र विदेशका घटनाहरू बारे बुझ्दै सम्बन्धित सरोकारवालाहरुबीच समन्वयकारी भूमिका निर्वाह गरिन्। यही दुई दशकको बीचमा उनले आफ्नो शैक्षिक अध्ययनलाई पनि अघि बढाइन् र स्‍नातकोत्तरसम्म अध्ययन गरिन्। उनले भनिन्, 'मैले घरको कामहरु, समाजको काम र वन-वातावरण संरक्षण अभियानसँगै पढाइलाई पनि अघि बढाए। जीवनको अन्धकारहरुसँग लड्ने हतियार शिक्षालाई अघि बढाउँदै मैले स्‍नातकोत्तरसम्म अध्ययन गरेँ।' 

Renu-Shah1.jpg

यहीबीच २०६५ सालमा कोशीमा बाढी आयो र ठूलो जनधनको क्षति भयो। यसले महिलाहरुको अवस्थालाई निकै कमजोर बनाएको देखेपछि उनले २०६६ सालमा महिला उत्थान तथा वातावरण मञ्‍च नेपाल नामको समाजिक संस्थाको स्थापना गर्दै आफूसँग आफ्ना समाजका दिदि बहिनीहरुलाई सशक्तिकरण गर्दै वातावरण संरक्षण अभियानमा लागिन्।  उनले गरेका कामहरुको कदर स्वरुप सरकारले उनलाई २०६७ सालमा वातावरण संरक्षण महिला पुरस्कार प्रदान गर्‍यो भने २०६९ सालमा विभूषण अधिकारपत्रमार्फत सम्मानित गर्‍यो। त्यसै गरी अन्तर्राष्ट्रिय जगतले समेत रेणुले वातावरण संरक्षणमा दिएको योगदानको कदर गर्दै २०७० सालमा अब्राहम कन्जरभेसन अर्वाड प्राप्त गरिन्। २०७१ सालमा उनलाई राष्ट्रपतीद्वारा गोरखा दक्षिण बाहु विभूषणबाट विभूषित गरियो।

उनले आफ्नो लामो समय वन संरक्षणमा बिताइन् र स्थानीयले उनलाई 'हात्तीको आमा' उपमा दिएका छन्। यसबारे उनले भनिन्, 'मेरो सबैभन्दा मनपर्ने क्षेत्र वन क्षेत्र भएको हुनाले मलाई रेणु देवी शाह र वन, समानर्थि शब्द भए जस्तै लाग्छ। वन जोगाउँदा हात्तीको संख्या बढ्यो। हात्ती कहिले गाउँमा पसेर बालिनालीमा क्षति पुर्‍याउने भएकोले मैले नै हात्ती पालेको जस्तै गरी स्थानीयले 'हात्तीको आमा' समेत भन्‍नुहुन्छ।' 

तपाईंलाई रिस उठ्दै भन्‍ने प्रश्‍नमा उनले मुस्कुराउँदै भनिन्, 'मलाई रमाइलो लाग्छ। मुस्कुराउँछु र अघि लाग्छु।' उनले वन जोगाउन मात्र पहल गरिनन्, वनसँगै वन पैदावार र वन्यजन्तु जोगाउन काम गरिन्। वन्यजन्तुले गाउँमा पस्दा हुने क्षतिपूर्तीका लागि बिमाको व्यवस्थाका लागिसमेत पहल गरेकी छन्। कोरोना महामारीका समयमा देशभर वन फडाँनी बढेका उजुरीहरु आएपछि आफ्नो स्वास्थ्यकोसमेत प्रवाह नगरी प्रधानमन्त्री कार्यालय अन्तर्गत वन फडानी छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको सदस्यको रुपमा काम गर्दै वनमा भइरहेको फडानीको अवस्था बुझ्‍न देशभर पुगेर वन फडानी रोक्‍ने उपायहरुबारे सरकारलाई सुझाइन्। 

उनको जीवनको स्वर्णिम समय वनजंगल संरक्षणमा नै बिते पनि पछिल्लो समय भने समाजका विभिन्‍न क्षेत्रमा योगदान गर्दै आएकी छन्। २०७३ सालमा उनले वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड नेपालको सदस्य रहेर वैदेशिक रोजगारमा विदेशीएका युवाहरुको आवाज बनेर काम गरिन्। २०७४ सालमा राजर्षि जनक विश्वविद्यालयको सभा सदस्य भई मधेश प्रदेशमा शिक्षाको उत्थान र पहुँचका विस्तारमा योगदान गरिन्। 

उनी हाल मधेशी आयोगको सदस्यको रुपमा कार्यरत छन्। जुन क्षेत्रम गए पनि उनलाई वन फडाँनी भएका समाचारले पिरोल्छ, वन्यजन्तु मारिएका कुराहरुले निद्रा लाग्‍न दिँदैन अनि चुरो दोहनलाई रोक्‍न उनले बेला-बेला सरोकारवालाहरुसँग छलफल गर्छिन्। उनले भनिन्, 'हाम्रा नदीको बालुवा, डुंगा, गिट्टीहरु सुन, हिरा र मोती हुन् भन्‍ने कुरा न त हाम्रो सत्ताले बुझ्‍न सक्यो, न स्थानीयलाई बुझाउन सकिएको छ। यति बहुमूल्य नदीजन्य वस्तु कौडीको भाउमा भारततीर लैजाँदा साह्रै मन दुख्छ। अहिले पनि सय-दुई सय ट्रक लग्यो भन्‍ने लाग्‍नसक्छ। यसले पार्ने दीर्घकालीन असर निकै गम्भीर छ।' 

चुरो दोहनलाई रोक्‍न नसकेमा मधेस मरुभूमि बन्‍ने बताउँदै उनले थपिन्, 'अहिले विश्व नै जलवायु परिवर्तनका घटनाबाट चिन्तित बनेको छ। तर, हामी भने कहिलेकाहीँ कुनै छलफल गर्छौं, त्यसमा पनि हिमालका कुरा मात्रै बढी गर्ने नगरेका छौं। हामीले मधेस खोक्रो बनिसकेको विषयमा ध्यान दिन सकेका छैनौं। मधेसलाई मरुभूमि बन्‍नबाट जोगाउन गम्भीर बनेर लाग्‍न आवश्यक छ।' 

सम्बन्धित समाचार

  • गोक्यो घोषणापत्र कार्यान्वयनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराइने

    सोलुखुम्बु- जलवायु न्यायका लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्न लगायत ९ बुँदे गोक्यो

  • नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

    पाटन (ललितपुर), २२ जेठ- साथसाथै फाउन्डेसन र काठमाडौँ विश्वविद्यालयको संयुक्त पहलमा नेपाल कोइला बहिर्गमन कार्यक्रम

  • ‘सगरमाथा संवाद’को सन्देशसहित सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण

    काठमाडौँ- सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा निस्कनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend