दुबई- पेरिस सम्झौता अन्तर्गतको पहिलो ग्लोबल स्टकटेकको सम्झौताको नयाँ मस्यौदा सोमबार कोप-२८ जलवायु सम्मेलनमा सार्वजनिक गरिएको छ। जसले २०५० सम्म जीवाश्म इन्धनको खपत र उत्पादन घटाउने लक्ष्य तय गरेको छ।
मस्यौदामा २०५० भन्दा अघि वा आसपासमा 'नेट जिरो' लक्ष्य प्राप्त गर्नका लागि जीवाश्म इन्धनको खपत र उत्पादन दुवैलाई न्यायोचित, व्यवस्थित र समन्यायिक रूपमा घटाउने' उल्लेख गरिएको छ।
कोइलाको प्रयोगलाई 'छिटो' चरणबद्धरुपमा कम गरिनुपर्ने, नयाँ ऊर्जा उत्पादन बढाउँदै लैजानुपर्ने विषयहरु मस्यौदामा समेटिएका छन्। २१ पृष्ठको ग्लोबल स्टक सम्झौताको मस्यौदामा विश्वव्यापी तापक्रम वृद्धिको अनुमानलाई १.५ डिग्री सेल्सियसभन्दा कममा ल्याउने उल्लेख छ।
विगत दुई हप्तादेखि बहसको विवादास्पद विषय रहेको जीवाश्म ईन्धनको 'फेज आउट' वा 'फेज डाउन' जस्ता शब्दहरू प्रयोग गरिएका छैनन्। कोप-२८ का अध्यक्ष डा. सुल्तान अल जाबेरले भने, 'हामी मानवता र ग्रहको लागि सबैभन्दा राम्रो गर्नसक्छौं भन्ने विषय अब यो पक्ष राष्ट्रहरुको हातमा छ। जीवाश्म ईन्धन सम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन देशहरूले 'धेरै कुरा गर्न बाँकी' छ।'
'तपाईलाई थाहा छ के सहमति हुन बाँकी छ, र तपाईलाई थाहा छ कि म तपाईलाई जीवाश्म ईन्धनको भाषा सहित सबै वस्तुहरूमा उच्चतम महत्वाकांक्षा प्रदान गर्न चाहन्छु। मैले गर्नसक्ने सहयोगका लागि मेरो ढोका तपाईंहरू सबैका लागि खुला रहनेछ,' डा अल जबरले थपे।
मस्यौदाले जिवाश्मा इन्धनको अधिक प्रयोगलाई घटाउन र ऊर्जा संक्रमणलाई सकेसम्म चाँडो सम्बोधन गर्ने विषयलाई प्राथमिकता दिएको छ। सन् २०३० सम्ममा विश्वव्यापी रूपमा नवीकरणीय ऊर्जा क्षमता तीन गुणा बढाउन, शून्य र कम उत्सर्जन टेक्नोलोजीहरूको गति बढाउन पनि आह्वान गरिएको छ। यसले देशहरूलाई २०३० सम्ममा मिथेन उत्सर्जन सहित गैर-कार्बन उत्सर्जनलाई तीव्रता दिन र पर्याप्त रूपमा घटाउन पनि आह्वान गरेको छ।
क्यानडास्थित जलवायु एजेन्सी 'डेस्टिनेसन जिरो' का संस्थापक र कार्यकारी निर्देशक क्याथरिन अब्रुले जीवाश्म ईन्धनहरू फेज आउट गर्ने सन्दर्भमा सम्झौता गरिएको उल्लेख गरिन्। तेल र ग्यास उत्पादनलाई चरणबद्धरुपमा घटाउँदै लैजानका लागि सँगै महत्वाकांक्षी र सटीक कार्यहरू विकास गर्न आवश्यक रहेको 'बियन्ड आयल एन्ड ग्यास एलायन्स' (बोगा) जनाएको छ।