महिला र युवाको नजरमा कोप-२८ 


साथसाथै न्युज
२५, मंसिर २०८०
महिला र युवाको नजरमा कोप-२८ 

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी कोप-२८ मा जलवायु परिवर्तनले निम्त्याएको समस्या र चुनौतीका विविध विषयमा बृहत छलफल भइरहेको छ। डिसेम्बर १२ मा सम्पन्‍न हुने कोप-२८ सम्मेलनमा नेपालले पहिलो पटक आफ्नै पेभेलियन लिएर नेपालले गरेका कामहरुलाई प्रदर्शन गर्ने र गर्न बाँकी कामहरुबारे छलफल र बहस गरेको छ। 

कोप-२८ मा हानी-नोक्सानी कोषको कार्यान्वयनका विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ। यद्पि हानी-नोक्सानी कोषको प्रत्यक्ष लाभार्थी सबैभन्दा बढी पीडित महिला, बालबालिका र युवा हुनुपर्ने आवाजहरु पनि उठिरहेका छन्। साथसाथैले कोप-२८ मा महिला, बालबालिका र युवाका मुद्दाहरुलाई कसरी उठाइएको छ भनेर केही सहभागीहरुसँग कुराकानी गरेको छ। 

अनुराधा कोइराला : अध्यक्ष, माइती नेपाल, पूर्व प्रदेश प्रमुख, बागमती प्रदेश 

नेपालमा जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला र बालबालिकामा परेको छ। जलवायुजन्य विपद्ले निम्त्याउने समस्याको प्रत्यक्ष पीडित महिला र बालबालिका हुने गरेका छन्। जलवायुजन्य विपद्ले विस्थापनको समस्या सिर्जना गरेको छ, जसले गर्दा बसाईंसराईंलाई बढिरहेको छ। महिला तथा बालबालिकाहरुको बेचबिखन बढिरहेको छ। हरेक दिनजसो गलत बाटोबाट बेचबिखनका लागि लगिन लागेका ८-९ जना महिला र बालबालिकालाई रोक्‍नु परेको छ। नेपालले कोप-२८ मा महिलाको सहभागिता बढाएको भए पनि जलवायु परिवर्तनले निम्त्याएको बसाईंसराईंको समस्यालाई प्रभावकारीरुपमा उठाउन सकेको छैन। 

सरिफ जामिल- जल संरक्षण निर्देशक, बंगलादेश 

जलवायु परिवर्तनले समुदायमा के असर गरिरहेको छ भन्‍ने कुराको सूचना तथा तथ्यांक संकलन गरेर मात्रै यसबारे बृहत छलफल गर्न सकिन्छ। कोप-२८ को पहिलो हप्ताको छलफल जिवाश्‍मा इन्धनको अन्त्यमा केन्द्रित भयो। जुन महत्वपूर्ण कुरा हो। तर, यसमा अन्य धेरै कुराहरु छुटिरहेका छन्। यसमा जिवाश्‍मा इन्धनको प्रयोग अन्त्यका लागि हामीले कसरी काम गर्ने र जलवायु परिवर्तनले अति जोखिममा रहेका समूह महिला, बालबालिका, युवालगायतका विषयमा छलफल भए पनि पर्याप्त हुन सकेको छैन। 

कञ्‍चन लामा : लैंगिक समानता र समावेशी विज्ञ 

विगतका कोपहरुभन्दा कोप-२८ मा भइरहेका कार्यक्रम र विभिन्‍न मुलुकका पेभेलियनमा भइरहेका साइड इभेन्टहरुमा महिलाको सहभागिता बढेको छ र तथ्यांकहरुलाई आधार बनाएर तथ्यगत कुराहरुमा बहस भइरहेको छ। जसले महिला र बालबालिका समस्या सम्बोधनका लागि बाटो खुलिरहेको महसुस भइरहेको छ। कोप-२८ मा भएका छलफललाई आफ्नो मुलुकमा फर्किएर कार्यान्वयन गर्नुपर्दछ। कोपमा जलवायुले परिवर्तनले असर गरेका र बढी जोखिमको सामना गरिरहेका समूहको सहभागिता अझै बढाएर उनीहरुको आवाज राख्‍नुपर्ने छ। 

दीपा वली : अधिकृत, वन तथा वातावरण मन्त्रालय

कोप-२८ मा नेपालले उठाएका ७ वटा मुद्दामध्ये 'जेण्डर इक्‍वालिटी एण्ड सोसल इन्कुलसन' (जेसी) पनि रहेको छ। नेपालले जेसीको पोजिसन पेपरमा पनि स्थानीय समुदाय, जनजाती-आदिवासी, महिला र उच्च जोखिममा रहेका समुदायसँगको छलफलपछि तयार गरिएको थियो। सोही अनुसार नेपालले कोप-२८ मा वार्ताका क्रममा प्रस्तुत गरिएको छ। जलवायु परिवर्तन न्युनीकरण र अनुकूलनमा पनि जेसीका कुराहरु आउनुपर्छ भनेर आफ्नो आवाजलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष राखिएको छ। 

यस वर्ष नेपालले आफ्नै पेभेलियन भएका कारण नेपालले गरेका कामहरु देखाउने काम भइरहेको छ र एकातिर नेपालीमात्रै नभएर विभिन्‍न मुलुकका जलवायु विज्ञहरु आएर नेपालको विषयमा बोलिरहनु भएको छ। नेपालको पेभेलियनमा भएका साइड इभेन्टहरुमा पनि महिला तथा समावेशी सहभागिता रहेको छ। त्यसैगरी हानी-नोक्सानीको कोषका लागि नेपालले गैर-आर्थिक क्षतिको तथ्यांक संकलनको प्रक्रियालाई अघि बढाउने विषयमा पनि कुरा भएको छ। 

उमेश बाला मगर : युवा जलवायु अभियन्ता 

विगतभन्दा युवाहरुको आवाज सशक्तरुपमा आइरहेको छ। नेपाल पेभेलियनमा पनि युवाहरुको आवाजले स्थान पाइरहेको छ भने युथ एण्ड चिल्ड्रेन पेभेलियनबाट राम्रोसँग आइरहेको छ। अपांगता भएका व्यक्तिहरुको विषयमा कुरा गर्दा हामीले फिजिकल एक्सेस र नीतिगत पहुँचको विषयमा कुरा गरिरहेका छौं। जलवायु परिवर्तनले सबैभन्दा बढी असर पर्ने भनेको युवाहरुलाई नै हो। भविष्य भनेको युवाहरुको हो र युवाहरुलाई सबैभन्दा बढी असर गरिरहेको कुरालाई हामीले सशक्तरुपमा उठाइरहेका छौं। 

 

सम्बन्धित समाचार

  • 'जलवायु परिवर्तनको असर ढोकामै पुगिसकेको छ, सबै क्षेत्र गम्भीर बनौं'

    काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २८) बाट प्राप्त भएका उपलब्धी र नेपालले आगामी

  • ‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

    काठमाडौँ- विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ

  • जलवायु परिवर्तन न्युनिकरणका लागि जीवाष्म इन्धन युग 'अन्त्य' को सुरुवात

    काठमाडौं- जीवाष्म इन्धन युग अन्तको सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend