दुबई (यूएई) -संयुक्त अरब इमिरेट्स (इमिरेट्स) को दुबईमा जारी कोप २८ सम्मेलनका क्रममा जलवायु चुनौतीलाई समाना गर्न प्रकृतिमा आधारित समाधानका लागि जोड दिइएको छ।
वन तथा वातावरण मन्त्रालयको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले ‘बिल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसन : पीपुल नेचर एण्ड एक्सन’ कोप २८ का क्रममा नेपाल पेभेलियनमा आयोजना गरेको साइड इभेन्टलाई सम्बोधन गर्दै वन तथा वातावरमन्त्री डा. विरेन्द्र प्रसाद महतोले जलवायु चुनौतीहरूलाई सम्बोधन गर्न प्रकृतिमा आधारित समाधानहरु आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘ जलवायु चुनौती सामना गर्न समुदायमा आधारित दृष्टिकोणमार्फत स्थानीय समुदायहरूको सक्रिय सहभागितामा प्रकृतिमा आधारित समाधान दृष्टिकोणलाई सुदृढ पार्ने गरी तल्लो तहको निरन्तर प्रयासहरू देख्न पाउँदा राम्रो लाग्छ । जलवायु कार्यहरू सुदृढ गर्न र सबै सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न थप वित्तीय स्रोतहरू ल्याउनु पर्छ।’
त्यसैगरी वन मन्त्रालयका सचिव डा. दीपककुमार खरेलले जलवायुमा आधारित समाधानका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराएका थिए। त्यसैगरी प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा. पपुलर जेन्टल भूसालले प्रकृतिमा आधारित समाधानका लागि स्थानीय तहलाई बलियो बनाउने र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए।
त्यसैगरी संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जलवायु चुनौतीको समाधानका लागि नेपालले कानुन निमार्णका क्रममा प्रकृतिमा आधारित समाधानका उपायहरुलाई ध्यान दिने उल्लेख गरे।
कार्यक्रममा कोषका सदस्य सचिव शरदचन्द्र अधिकारले कोषले प्रकृतिमा आधारित समाधानका लागि स्थानीय तहलाई प्रोत्साहन गर्ने र सबल बनाउने काम गरिरहेको बताए।